04/11/2026
⚖️ ग्राहकले QR बाट पैसा तिर्यो। अब पनि VAT बिल काट्नैपर्छ?
🙋 प्रश्न: अचेल धेरैजसो ग्राहक QR स्क्यान गरेर तिर्छन्। बैंकमा रेकर्ड भइहाल्छ, छुट्टै बिल किन चाहियो?
📌 बिल त काट्नैपर्छ (मूल्य अभिवृद्धि कर ऐन, २०५२ दफा १४)
- VAT दर्ता भएका वा नभएका सबै व्यवसायीले सामान वा सेवा बेच्दा भुक्तानी नगद होस्, कार्ड होस् वा QR, बीजक दिनैपर्छ।
- बिल लिनु ग्राहकको पनि कर्तव्य हो।
- बिल नदिए प्रति पटक रु. १०,००० र बिल नलिए - ग्राहकलाई प्रति पटक रु. १,००० जरिवाना हुन सक्छ (दफा २९(१)(ग))।
🏦 QR को पैसा कुन खातामा?
- व्यवसायको कुनै पनि रकम (नगद, चेक, QR वा अन्य विद्युतीय भुक्तानी) व्यक्तिगत बैंक खातामा जम्मा गर्न पाइँदैन (आयकर ऐन दफा ८१क)।
- उल्लङ्घन गरे प्रत्येक अनुगमनमा रु. ५,००० वा कुल रकमको २% मध्ये जुन बढी, त्यति शुल्क लाग्छ (दफा ११९क(३))।
- पसलको QR व्यवसायको नाममा खोलिएको खातासँग जोड्नुहोस्।
🎁 ग्राहकका लागि फाइदा
- विभागले तोकेका सामान वा सेवा विद्युतीय माध्यमबाट तिरेर किन्दा तिरेको VAT को १०% तुरुन्तै छुट पाउने व्यवस्था छ (VAT ऐन दफा २५(१ख), आर्थिक ऐन २०८३ बाट संशोधित)।
- त्यस्तै नेपाल सरकारबाट करदाता प्रोत्साहन कार्यक्रम मार्फत मासिक रु १० लाखसम्म जित्ने मौका मिल्दछ ।
💡 व्यावहारिक सुझाव
- दिनको अन्त्यमा QR को रकम र बिलको जोड मिलाउनुहोस्।
- बिलिङ सफ्टवेयर प्रयोग गर्नुहुन्छ भने विभागबाट स्वीकृत सफ्टवेयर मात्र प्रयोग गर्नुहोस्।
🔐 किन महत्वपूर्ण?
- बैंकको QR रेकर्ड कर कार्यालयले हेर्न सक्छ। बिक्री बिलभन्दा QR को रकम बढी देखिए बिक्री लुकाएको प्रश्न उठ्छ।